कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेसबुकमा लाइभ हुने

राष्ट्रपाटी न्युज

२ श्रावण २०८०

काठमाडौं । आजबाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ । कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठक प्रत्यक्ष प्रशारण हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
सभापति शेरबहादुर देउवाको इच्छाअनुसार लाइभ गर्न प्राविधिक तयारी भइरहेको पौडेलले बताएका छन् ।
बैठकका विषयवस्तुका बारेमा कार्यकर्ताले पनि थाहा पाउन भन्ने उद्देश्यले सभापतिले लाइभ गर्ने बताएका पौडेलले जानकारी दिएका छन् ।
बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुने बैठकमा पहिलो एजेन्डाको रूपमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुनेछ ।
सांगठनिक कार्य योजना र कार्य तालिका प्रस्तुत हुनेछ भने कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछन् ।
केन्द्रीय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेन्डा पनि रहेको छ ।
यस्तै पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने छन् ।


Published :२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media