काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भईरहेको दावी गरेका छन् ।
अध्यक्ष नेपालले काँग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे ।
शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उहाँले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताए । अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढनुपर्नेमा पनि जोड दिए ।
अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए । उनले पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकीर गरे ।