काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले गाली गलौजको संस्कारले पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् ।
बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री डा महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकशित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखेका थिए ।
उनले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पु-याउनुपर्ने बताए । पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पु-याउनुपर्ने उल्लेख गरे ।
पार्टी प्रवक्ता डा महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पु-याउन नसकेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताए ।
बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसर पारेर आजै वृक्षरोपणसमेत गरिएको छ ।