काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेकपा, अहिले एमालेको रुपमा जनतामाझ लोकप्रिय रुपमा स्थापित भएको दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा आइतबार रामेछापको भंगेरीमा एमालेद्वारा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पोखरेलले पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदानको चर्चा गरे ।
उनले विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’ का प्रथम नेपाली भाषामा अनुवादक गरेर नेपाली जनतामाझ पुष्पलालले ऐतिहासिक कार्य गरेको समेत उल्लेख गरे ।
एमाले जनताको विकासको आकांक्षा र परिवर्तनलाई नेतृत्व गर्ने सामार्थ्य राख्ने पार्टी भएको बताउँदै पोखरेलले सरकारको नेतृत्व गरेको बेला जनतामाझ देखाउन सफल भएकोसमेत दाबी गरे । उनले एमाले नेपालमा मात्र नभई विश्वस्तरीय कम्युनिष्टको लोकप्रिय आन्दोलनको रुपमा एमाले स्थापित भएको धारणा राखे ।
महासचिव पोखरेलले जनताको विकास र समृद्धिको पक्षमा लागिरहेको एमालेलाई घेराबन्दी गर्ने काम भइरहेको बताए । राष्ट्रियताको रक्षा गर्ने पार्टी एमाले मात्रै हो भन्ने कुरा एमालेको अडानले पुष्टि गर्ने उनको भनाई छ । उनले अहिले कम्युनिष्टकै सरकार भए पनि एमालेले पुष्पलालको जन्मभूमिमा गुरु योजनासहित अगाडि बढाएका योजनाका बजेट कटौती गर्ने वा बजेट नै नदिने गरेकोप्रति आक्रोश व्यक्त गरे ।
दिवसको अवसरमा वृक्षारोपणसमेत गरिएको छ। आज दिउँसो नै मन्थलीको तीनलाल पार्कमा एमाले रामेछापले विशेष कार्यक्रमसमेत आयोजना गरेको छ ।