फिदिम बोलेरो दुर्घटनाः मृतकको सङ्ख्या तीन

राष्ट्रपाटी न्युज

११ श्रावण २०८०

पाँचथर । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीय इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार गम्भीर घाइते शेर्पाको सो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि विर्तामोड लगिएको थियो। दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका–१० की ४० वर्षीय सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

झापाको विर्तामोडबाट पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नं को बोलेरो जीप मङ्गलबार दिउँसो १२:१५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको थियो। चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब दुई सय मिटर तल झरी बोलेरो दुर्घटना भएको थियो ।

दुर्घटनामा बोलेरोमा सवार चालकसहित १३ यात्रु घाइते भएका थिए, तीमध्ये तीन जनाको मृत्यु भएको हो। बाँकी चार जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घाइतेमध्ये एक जना पाँच वर्षीय बालिका समेत छिन् ।


Published :११ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media