सुनसरीका पूर्व-पश्चिम राजमार्ग र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

राष्ट्रपाटी न्युज

साउन १२, २०८३

काठमाडौं । कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । स्थिति बिग्रँदै गएपछि शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासनले आज दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि यो आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु लागू भएका क्षेत्रहरूमा पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म, महेन्द्र राजमार्गको उत्तर र दक्षिण २०० मिटरको क्षेत्रका साथै सम्पूर्ण इनरूवा बजार क्षेत्र समेटिएका छन् ।

कर्फ्यु लागू भएको अवधिभर तोकिएका क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न र आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।


Published :साउन १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media