काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याएका हुन् ।
‘योङ प्रोफेशनल फेलोसिप नेपाल-२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरु र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए ।
नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उनले युवा पुस्तालाई नेतृत्वदायी भुमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकीर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिवद्धता समेत व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागू पदार्थको दुर्व्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको सिको गर्दै हुने अपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृतियुक्त, सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहम् सवाल रहेको समेत बताए । उनले युवा पुस्तालाई सूचना र प्रविधि विकाससँग भित्रिएको नकारात्मक प्रभावमा पर्न नदिन पनि सचेत गराउनुपर्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भुमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताए ।