काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।