जनकपुरधाम । मधेस प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । लामो समयदेखि खाली रहेको मन्त्रालयमा कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
मधेस सरकारले आज छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेको हो। यो सँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत् छिन्।
उनी सुरुमा मन्त्री सामाजिक विकास मन्त्री नियुक्त भएकी थिइन् । पछि मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेकी साहलाई पाँचौं पटकको मन्त्रिपरिषद् विस्तारमा विना विभागीय मन्त्री बनाएका थिए। त्यसयता उनी हालसम्म विना विभागीय मन्त्रीमा सीमित छन् ।
यसअघि आजै जनमत पार्टीबाट कृषि मन्त्री रहेका बसन्त कुशवाहा र राज्य मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय मन्त्री बनाएको थियो। त्यसयता उनीहरू दुवै जना विना विभागीय मन्त्रीका रूपमा रहेका थिए। तर आज जनमतले राजीनामा गराएर थप एक मन्त्री पठाएको छ ।