काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई वैधानिकता सर्वोच्च अदालतले आदेश दिएपछि विवादमा परेका उनले पदबाट राजीनामा दिएका हुन् ।
एमाले हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङ्गले आह्वान गरेका थिए ।
सो क्रममा कांग्रेसका थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख गौतमले हस्ताक्षर गरेका थिए । सोविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका थिए ।
उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्तक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेको थियो ।
सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने निर्णयमा पुग्न बाध्य भएको हो ।