कोशीका मुख्यमन्त्री उद्धव थापाद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

राष्ट्रपाटी न्युज

१७ श्रावण २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री थापा मंगलबार नियुक्त भएका थिए ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो ।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनसहित बहुमत जुटाउँदै थापा मुख्यमन्त्री भएका हुन् ।

आजै मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन् । उनीसँगै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् ।

यता थापालाई समर्थन जनाएको जनता समाजवादी पार्टीले प्रदेश पुनः नामकरणको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ ।


Published :१७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media