काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् । उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन् ।
बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताउनु भयो । उहाँले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताउनु भयो । सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा उनले माग गरे ।
उनले भने– ‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधान अनुसार चलाउनुपर्नेमा जहिल्यैपनि विधान भत्किन्छ हाम्रो । महाधिवेशनमा नीति बनाउँछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि भत्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागदै पनि हाम्रो एजेण्डा हुँदाहुँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छ । विधि, पद्धती र प्रणालीमा लगेर चलाउन नै चुकेको छ । भद्रगोल, विधिसम्मत रुपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ । योजना बनाए अनुसार कार्यान्वयन नहुँदा समस्या । सुधारको पाटो, विधान अनुसार मेरो, तेरो नभनी फिल्डमा पठाउने । अब वडा, सेल कमिटीदेखि नै चुनावद्वारा नेतृत्व छान्ने प्रणालीतिर लैजानुपर्छ । जो फिल्डमा जान्छ त्यसले जनताको मन जितेर निर्वाचित भएर आउँछ । बनाएको विधानलाई कार्यान्वयन गरेर जान सक्नुपर्छ ।’
त्यस्तै केन्द्रिय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताउनु भयो । ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताए । उनले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताए ।
केन्द्रिय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताए । त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताए ।
केन्द्रिय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए । उनले सरकारको कामले जनतालाई आशा जघाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताए । आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उनले बताए ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । उनले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामुहिकतामा विश्वास गर्नुपर्ने बताए ।
केन्द्रिय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताए । उनले पार्टी अध्यक्षले पार्टीलाई रुपान्तरण गर्दै अगाडी बढाउनेमा विश्वास व्यक्त गरे ।
केन्द्रिय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए । बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जानेगरी आधार तयार गर्ने उल्लेख गरे ।
केन्द्रिय सदस्य टेकबहादुर शाक्यले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताए । बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उनले जानकारी दिए ।
केन्द्रिय सदस्य शाक्यले पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने र निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने माग गरे ।