भक्तपुर । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताएका छन् ।
शुक्रवार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताएका हुन् ।
अध्यक्ष भट्टराईले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयनमा ठिक ढंगले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले नेपाललाई संसारको एउटा समुन्नत देशहरुको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मसात गरेर अघि बढिरहेको जिकिर समेत गरे ।
अध्यक्ष भट्टराईले आफ्नो पार्टीले अरु पार्टीहरुले जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने बताए । उनले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई संघर्ष, एकता र रुपान्तरणको माध्यामबाट व्यवस्थापन गर्दै अघि बढाउने बताए ।