आफ्नै दलभित्र कोही भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिनुहुँदैनः वर्षमान पुन

राष्ट्रपाटी न्युज

२० श्रावण २०८०

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन् ।

राजधानीमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने उल्लेख गरे ।

पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए ।

उनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो । गृह जिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बीरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका छन् ।

बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताए । भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो ।

पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए । पुनले पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको चर्चा गरे ।

पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने विचार पुनले व्यक्त गरे । पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे ।


Published :२० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media