काठमाडौं । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा बसेको शीर्ष नेताहरूको बैठक सकिएको छ।
सोमबार अबरूद्ध प्रतिनिधि सभा बैठक खुलाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । तर, प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुखको बैठकले संसद खुलाउने निष्कर्ष भने निकाल्न सकेन ।
बैठक आजै साढे ३ बजे बस्नेगरी उठेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
आज १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मको लागि सूचना टासेर स्थगित गर्ने तयारी भएको उनले बताए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ र सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।