प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, बैठक २९ गतेसम्मलाई स्थगित

राष्ट्रपाटी न्युज

२६ श्रावण २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  दिउँसो १ बजे सुरू भएको बैठकमा नेकपा एमाले सांसदहरूले अवरोध जनाएपछि बैठक स्थगित भएको हो।

अब अर्को बैठक साउन २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए । उनी बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर अवरोध जनाएका थिए। एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै सिटबाट उठेका थिए ।

सभामुख घिमिरेले बैठकका नियमित कामकारबाही अघि बढाउन सांसदसँग आग्रह गरेका थिए।  सभामुखले संसद संचालनका लागि नियमको पालना गर्न आग्रह गरे । तर पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छानबिन समितिको माग गर्दै विरोध जनाइरहे। उनीहरूले सरकारविरुद्ध नाराबाजी गरे ।

एमाले सांसदहरू वेल घेराउ गर्न अघि बढेपछि मर्यादापालकहरूले रोकेका थिए । पर्यादापालकहरूले अघि बढ्न नदिएपछि एमाले सांसदहरूले भ्रष्टाचारीलाई कारबाही गर,सुन तस्करीलाई कारबाही गर भन्दै नाराबाजी गरे ।

उनीहरूले आफ्नो अडान नछाडेपछि सभामुख घिमिरेले अवरोधका बीच सदन सुचारु गर्न नसक्ने भन्दै साउन २९ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए ।

साउन ३ गते त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  भन्सार चेकजाँच भइ बाहिरिएको क्वीन्टल सुन बरामद भएको थियो। सुन प्रकरणमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

सुन तस्करीमा सरकारका मन्त्रीहरूकै संलग्नता रहेको एमालेको आरोप छ । एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आरोप लगाउँदै  आएको छ । गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने एमालेको अडान छ ।


Published :२६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media