‘न निन्द्रा न भोक’ मा कपनबासी,दल र नेताहरुमा न योजना,न जिम्बेवारीबोध !!

काठमाडौं। आकाशमा बादल गर्जदा कपनको चखुंचा खोला किनारबासीको मन श्रिङ्ग हुन्छ, कतै भत्काइएको खोलामा बाढी आउँछ कि भनेर। धोवी खोला देखि कपन तरकारी बजार आरम्भ चोकसम्म असरल्ल खोलेर छोडेको खोलाले स्थानीयबासीको ‘ न निन्द्रा न भोक ‘ बनाएको छ।गजगजी हिलो, असरल्ल माटो ,खुल्ला खोला अनि निरन्तर बर्षाद , त्यसमाथि घरनै जाने हो कि भन्ने चिन्ता ,सम्झिदा पनि आँशु झर्ने यो परिश्थितिमा उल्टै खोला माथि घर र खोला मिचेको आरोप खानु पर्दा धेरैका सिरानी भिजेका छन् आज भोलि।

यो त खोतालिएको खोलाको कुरा भयो। अब खोतल्न बाँकी आरम्भ चोकदेखि माथि तेञ्जिङ्ग चोक हुँदै माथि तिरबाट आएको महानगरसंग जोडिएको चखुंचा खोला पुरै खोल्ने बालेनको अडानपछि अरु संयौ घर परिवारको समेत अहिले न निन्द्रा न भोकको अबस्था बनेको छ।

केहि दिन अघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी तथा उपत्यका बिकास प्राधिकरणका इन्जिनियरहरु सहितको बैठकमा यो कुरा छलफल भएको थियो । उक्त बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो सिमा क्षेत्रको खोला खोलेरै छोड्ने बताएका थिए । जति घर वा जग्गा परेपनि छिटै चखुंचा खोला खोलिने अडानमा मेयर बालेन शाह रहेको बताइएको छ। बालेन शाहको यो अडान पछि खोलाहरु खोलिने अवस्था बनेको छ भने बक्स कल्भर्ट बनाउन जारि भएको टेन्डर पनि अन्यौलमा परेको छ।

यसरी महानगरले आफ्नो सिमा क्षेत्रमा खोला खोलेपछि कपन क्षेत्रको यज्ञमति खोला खोल्ने कि नखोल्ने भन्ने बिषयमा थप अन्यौल सिर्जना हुन पुगेको छ।आरम्भ चोक -कपन चौकी-टेलिकम हुदै आनी गुम्बा जाने खोला पनि खोलिएमा अरु धेरै घरहरुमा क्षेती पुग्ने छ भने धेरैलाइ फेरी न निन्द्रा न भोकको अबस्था सिर्जना हुनेछ।

यहि खपी नसक्नु तनावको बिचमा बूढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ ले यज्ञमति र चखुंचा खोला क्षेत्रमा पर्ने स्थानीयहरुलाई विभिन्न कागजात सहित सम्पर्क गर्नका लागि अनुरोध गरिरहेका छन् । आफ्ना कागजात बोकेर वडा पुग्नेहरुका मनमा त्रास र आक्रोश दुवै छ। आफ्नो स्थानीय तह बूढानिलकण्ठ नगरपालिका समेत निरिह बन्नु परेको यो अबस्थामा के हुने हो भन्ने अत्याश मात्र देखिन्छ।

बूढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ को यज्ञमति र चखुंचा खोला क्षेत्रमा पर्ने स्थानीयहरु यो आपत आइरहँदा यस क्षेत्रका राजनीतिक दलहरु कसैको पनि स्पस्ट धारणा छैन। धेरै राजनीतिक दलका नेता कार्यकर्ताहरु खोला क्षेत्रमा गएर रमाइलो हेर्ने , मिडियामा मन लाग्दी बोल्ने र अरुको कुरा काट्ने काममा व्यस्त छन्। यस क्षेत्रका राजनीतिक दलहरु नेपाली कांग्रेस ,नेकपा एमाले ,माओबादी केन्द्र लगायतको कसरि निकास दिने भन्ने न कुनै योजना छ ,न जिम्बेवारीबोध।

यस क्षेत्रबाट निर्वाचित बूढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नबराज भट्टराई बाहेक अन्य जनप्रतिनिधिहरुको भूमिका गुमनाम जस्तै छ। काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित साम्सद गगन थापा ,प्रदेश साम्सदहरु जयराम थापा, छिरिङ्ग लामाहरु यो विषयमा पुरै मौन छन्। खास गरि केहि बढी आश गरिएका संघीय साम्सद गगन कुमार थापाको समेत अनौठो मौनताले प्रभावितहरुको मन कुंडीएको छ। सयौं घरहरु पर्ने र धेरै सुकुम्बासी बन्न सक्ने खतराको घन्टी बजेको यो घडिमा स्थानीय राजनीतिक दल र जनप्रतिनिधिहरुको यो गैरजिम्बेवार, योजना बिहिन र गुमनाम पाराले स्थानीयहरु अहिले त्यहि ‘ न निन्द्रा न भोक ‘ को अबस्थामा रहंदा भविष्यमा के हुने भन्ने व्यापक अन्यौल कायम भएको छ।

– सन्तोष लुइटेल

 

 


Published :भदौ ९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media