कोसीका मुख्यमन्त्रीलाई माओवादीले पनि विश्वासको मत दिने

राष्ट्रपाटी न्युज

अशोज २९, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा (माओवादी केन्द्र)ले पनि विश्वासको मत दिने भएको छ ।

प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो बैठकबाट कार्कीले विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा बैठक आगामी बुधबार (कात्तिक १ गते) दिनको ११ बजेका लागि बोलाइएको छ। कार्कीकै कारण माओवादीको सत्तायात्रामा ‘ब्रेक’ लागेको थियो। तर, माओवादीले उनलाई विश्वासको मत दिने भएको हो।

माओवादीको सोमबार बसेको प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर कार्कीलाई मत दिने निर्णय लिएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले केन्द्रसँग परामर्श गरेर विश्वासको मत दिने निर्णय बैठकमा भएको बताए।

गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्। उनले आइतबार पद तथा गोपनीयताको सपथ लिए। एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरे।

सत्ता गठबन्धनको निर्णयविपरीत कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धन र एमालेको चेपुवामा परेका कार्कीले अरु मुख्यमन्त्रीभन्दा चाँडै विश्वासको मत लिन खोजेका छन् ।

कार्कीलाई गठबन्धनले आफ्नै मुख्यमन्त्रीका रूपमा स्वीकार गरेको छ। गठबन्धन कायम राख्न पनि कार्कीमाथि दबाब बढेको छ ।


Published :अशोज २९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media