कोसीका  मुख्यमन्त्री कार्कीद्वारा सदनमा विश्वासको प्रस्ताव पेश

राष्ट्रपाटी न्युज

कार्तिक १, २०८०

काठमाडौं । कोसी प्रदेशसभा बैठक सुरू भएको छ।  बैठकमा मुख्यमन्त्री केदार कार्कीले  प्रदेशसभा नियमावली २०७४ को नियम १२८ उपनियम (४)  बमोजिम विश्वासको मत लिने प्रस्ताव सदनसमक्ष राखेका छन् ।

९३ जना प्रदेसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ। तर, कार्कीलाई गठबन्धनबाट विद्रोह गरेका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थन छ। यसैले उनी विश्वासको मत पाउनेमा ढुक्क छन्।

कोसी प्रदेशसभामा एमालेका ४० (उपसभामुखसहित),कांग्रेसका २९,नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। कांग्रेस पनि कार्कीलाई विश्वासको मत दिने र सत्ता पक्षको लाइनमा बस्ने निर्णय गरेको छ।

कार्की नेतृत्व कोसी प्रदेश सरकार गठन प्रक्रियामा राप्रपा भने तटस्थ छ।

गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्।  कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरेका छन्।

तर, नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकेको छैन । कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।


Published :कार्तिक १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media