नगर अस्पताल भवन बूढानीलकण्ठलाई हस्तान्तरण

राष्ट्रपाटी न्युज

कार्तिक १६, २०८०

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकालाई नगर अस्पताल हस्तान्तरण गरिएको छ । वडा नं १० बालुवाखानि, डिठ्ठाचौरमा भौतिक निर्माणको कार्य सम्पन्न भएको अस्पताल आज एक कार्यक्रम विच निर्माण कम्पनीले नगरपालिका प्रमुख मिठाराम अधिकारीलाई हस्तान्तरण गरेको हो ।

आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बुढानीलकण्ठ नगरपालिकामा २०७७ बैशाख १६ गतेको निर्णय अनुसार प्रतिष्ठागिरि कन्स्ट्रक्सन संग सोहि वर्षको असार ०७ गते सम्झौता भई काम सुरु भएको थियो ।

नगर परिषद्को निर्णय अनुसार कुल लागत ९,९३,६६,४२०\- रुपैँया लाग्ने अस्पताल निर्माण योजनाको लागी स्वास्थ्य मन्त्रालयबाट ६ करोड विनियोजन भएको थियो भने बाँकि लागत नगरपालिका आफैले विनियोजन गरेको थियो ।

नेशनल हेल्थ सपोर्ट आर्किट्क्चुअल स्यानिटरी (NHSAS) को प्राविधिक डिजाईन अनुसार भएको अस्पताल भवन साढे तिन तल्लाको हुनेछ । २४ सैयाको हुने यस अस्पतालको भुई तल्लामा आकस्मिक सेवा कक्ष, ओ.पि.डि. , प्याथोलोजि, रेडियोलोजि युनिटहरु हुनेछन्। पहिलो तल्लामा प्रसाशनिक कार्यालय र आई.पि.डी (Indoor Patient Department) , दोस्रो तल्लामा थेरापेटिक युनिट (Therapeutic Unit) ,प्रसुति गृह र तेस्रो तल्लामा योगा हल, भण्डारण कोठा, प्रशिक्षण तथा वैठक हल लगायत लुगा धुने ठाँऊ हुने जानकारी नगरपालिका पुर्वाधार विकास शाखा प्रमुख सुनिल महर्जनले दिएका छन् ।

निर्माण कम्पनीबाट भवनको साँचो लिदैँ नगर प्रमुख मिठाराम अधिकारीले अस्पताललाई शिघ्र संचालनमा ल्याउने प्रतिवद्दता जाहेर गरेका छन् । अस्पताल संचालनको लागी परामर्श समिति पनि गठन भईसकेको जानकारी दिँदै आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनको कार्य सुचारु गर्न सम्बन्धीत सबैमा उनले अनुरोध गरेका छन् ।

भवन निर्माण कम्पनी सँगको सम्झैता अनुसार २०७८ पुष ०७ गते सम्म तयार हुने सम्झौता भएता पनी त्यस अन्तरालमा कोभिड लगायत अन्य विभिन्न कारणले गर्दा भवन निर्माण कार्य सम्पन्न हुन केहि समय लागेको नगर अस्पताल संयोजक एवं नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका छन् ।

भवन हस्तानतरण कार्यक्रममा उपस्थित नगर उपप्रमुख अनिता लामाले अस्पताल संचालन कार्यलाई द्रुत गतिमा लैजान डा. भगवान कोईरालाको संयोजक्तवमा विज्ञ टोलिहरुको परामर्श समिति गठन भएको जानकारि दिएकि छन्।

कार्यक्रममा उपस्थित नेपाल हेल्थ रिसर्च काउनसिलका प्रवन्ध निर्देशक डा. प्रदिप ज्ञावलि र जनस्वास्थ्य विज्ञ मधु देवकोटाले अस्पताललाई संचालनमा ल्याउनको लागी आवश्यक्ता अनुसार सहयोग गर्ने बताएका थिए ।

उक्त कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं १२ अध्यक्ष शम्भु भट्टराई, वडा नं १० सदस्य चन्द्रमान श्रेष्ठ, नेपाल हेल्थ रिसर्च काउनसिलका प्रवन्ध निर्देशक डा. प्रदिप ज्ञावलि, जनस्वास्थ्य विज्ञ मधु देवकोटा, नगरपालिका प्रशासकीय अधिकृत केदार खड्का, वरिष्ठ जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहाल, जनस्वास्थ्य निरिक्षक जिवन खतिवडा लगायत राजनितिज्ञ प्रदिप डंगोल, प्रतिष्ठागिरि कन्स्ट्रक्सनका प्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो ।


Published :कार्तिक १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media