७ मंसिरको दुर्गा प्रसाईको प्रदर्शन बल्खु चोकमा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले वर्तमानको व्यवस्था र गरिवदुखीको ऋण मिनाहाका लागि मंसिर ७ गते गर्ने प्रदर्शन काठमाडौँको बल्खु चोकमा हुने भएको छ ।

अभियानता व्यवसायी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी थियो । सोही दिन नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले सोही दिन सोही ठाउँमा कार्यक्रम गर्ने भएपछि झडप हुने सम्भावित अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन काठमाडौंले एक महिनाका लागि सो क्षेत्र निषेध लगाए पछि प्रसाईले वल्खु चोकमा प्रदर्शन गर्न लागेका हुन ।

सो कार्यक्रमका लागि गठित अध्यक्ष मण्डलका सदस्य तथा संगठन एवं कार्यक्रम प्रमुख हरि कार्कीले प्रदर्शन तीन हुने र बल्खु चोकलाई केन्द्रविन्दु बनाइने बताएका छन् । कार्यक्रम मंसिर ७ गते दिउँसो १ बजे सुरु हुने कार्कीले बताएका छन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पुतलीसडक, माइतीघर र बानेश्वर क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र तोकेको छ।

यसैवीच युवा संघले तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन गर्ने भएको छ । संघले गर्ने प्रदर्शन सरकारको अकर्मण्यताविरुद्ध केन्द्रित रहने जनाएको छ । ‘प्रदर्शन भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध केन्द्रित हुनेछ, प्रसाईंका विरुद्ध होइन, प्रसाईंजस्ता व्यक्तिहरूको अराजक प्रवृत्तिविरुद्ध हो,’ संघका प्रवक्ता निरोज पौडेलले भने ।

‘भ्रष्टाचार, महँगी र अराजकताविरुद्ध मंसिर ७, युवा विद्यार्थीको साथ’ नारा दिएर संघले काठमाडौं उपत्यका र बागमती आसपासबाट अनेरास्ववियुसहित पार्टीसम्बद्ध अन्य जनसंगठनको सहयोगमा प्रदर्शनको तयारी गरिरहेको छ । प्रदर्शनको स्वामित्व लिँदै एमालेले पनि कार्यक्रममा सहभागी हुन अपिल गरेको छ ।
प्रदर्शनको प्रचारका लागि संघले बुधबार साँझ काठमाडौं उपत्यकाका ४० भन्दा बढी स्थानमा मसाल जुलुुस तथा दिउँसो ५ हजार स्वयंसेवकलाई मार्च पास गराउने तयारी गरेको छ । प्रदर्शन क्षेत्र परिवर्तन भएपछि पूर्वी बागमतीको जुलुस भक्तपुर क्षेत्रबाट, पश्चिम बागमतीको बालाजु र कलंकी हुँदै ललितपुर क्षेत्रबाट कोटेश्वरमा जम्मा गराएर कम्तीमा ४ घण्टा प्रदर्शन गराउने संघको तयारी छ । प्रदर्शनकारीहरूलाई कम्तीमा २५ हजार रातो टोपी बाँड्ने गरी छपाइएको संघका प्रवक्ता पौडेलले बताएका छन् ।


Published :५ मंसिर २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media