काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै राजनीतिलाई अराजक बनाएको आरोप लगाएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको बताए।
ओलीले भने- ‘अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ। राजनीतिलाई अराजक बनाएको छ। प्रहरीले समातेको गुन्डाहरूलाई सरकारले छोड्न लगाउँछ। राष्ट्रपतिले माफी दिन्छ । समाजमा सुशासन छैन।’
उनले व्यक्तिमा खराबी हुने भन्दै लोकतन्त्र कहिल्यै खराब हुन नसक्ने बताए । ‘जसले गल्ती गरेको त्यो मान्छे खराब हुन सक्छ । व्यक्ति खराब हुनसक्छ। तर लोकतन्त्र र गणतन्त्र खराब हुन सक्दैन,’ उनले भने ।
उनले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने भन्दै नेपाल अब ढुंगे युगतिर फर्किन नसक्ने बताए । उनले भने- हामी ढुंगे युगतिर फर्किन सक्दैनौं। जन्मिँदै कोही राजा बन्ने हामीलाई स्वीकार हुँदैन ।