काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजिएको दाबी गरेका छन् ।
सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरुमा निराशा र आक्रोश बढेको बताएका हुन् । जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उनले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको बिरुद्धमा प्रयोग गर्न खोजिएको बताए । उनले आक्रोशित जनसमुदायलाई व्यवस्था बिरोधी बनाउन र शासकीय प्रवन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवासपना मात्रै हुने बताए । उनले व्यवस्था र संविधानका बिरुद्धमा हुने गतिविधिहरुलाई निस्तेज पारिने पनि बताए ।
उनले सरकारको अर्कमण्यताका कारण कतिपय तत्वले धमिलो पानीमा माछा मार्न खोजेको संज्ञा दिए ।
व्यवस्था बिरोधी स्वरहरु सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उनको भनाई छ । उनले गणतन्त्रको विकल्प नभएको बताए । उनले वर्तमान राजनीतिक व्यवस्था नढल्ने भए पनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको बताए । उनले ठूला राजनीतिक दलहरु मौन बस्दा सरकारले फेरि पनि अस्थिरता, अन्यौलता र अराजकताको खेती गरेको हो कि भन्ने आशंका उब्जिएको बताए ।