कहिले रोकिन्छ बूढानीलकण्ठ नगरपालिकामा भ्रष्टचार ?

राष्ट्रपाटी न्युज

१५ मंसिर २०८०

काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार राईलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ बाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

पटक पटक भ्रष्ट कर्मचारी पक्राउ पर्न थालेपछि बूढानीलकण्ठ नगरपालिकाको समेत बद्नाम भैरहेको छ। नगरपालिका भित्र निर्माण हुने घर नक्सापास,योजनाहरुको लागत इस्टिमेट,टेण्डर आव्हान,डीपीआर निर्माण र जग्गा विकासको स्वीकृति जस्ता महत्वपूर्ण काम गर्ने जिम्मेवारी पाएको प्राविधिक शाखा पटक पटक कुख्यात रुपमा चर्चामा आउने गर्छ। कहिले भ्रष्ट कर्मचारी समातिने त कहिले करार इन्जिनियरको म्याद काण्डले बूढानीलकण्ठ नगरपालिकाकै बेइज्जत भैरहेको छ।

नगरपालिकाको यस शाखाको बारेमा सबै भन्दा बढी गुनासो आउने गरेको छ। उपभोक्ता समितिहरु र ठेकेदारहरु आजित भैसकेको बताउने गर्छन । करार इन्जिनियरहरुलाई म्याद नथप्ने निर्णय गरेर पनि खासै सुधार भएको देखिदैन। सव–इन्जिनियर टिकाराज राई ८० हजार घुस सहित पक्राउ परेपछि प्रश्न फेरी उठेको छ।

कहिले रोकिन्छ बूढानीलकण्ठ नगरपालिकामा भ्रष्टचार ?


Published :१५ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media