काठमाडौँ महानगरद्वारा २३० कर्मचारीको माग

राष्ट्रपाटी न्युज

१६ मंसिर २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज सूचना प्रकाशित गरी महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि २१ सुपरीवेक्षक र २०९ गणक गरी २३० जना कर्मचारी माग गरेको हो ।

महानगरले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई पुस ६ गतेसम्म महानगरपालिकाको वेब साइट मार्फत दरखास्त दिन सकिने जनाएको छ । दरखास्तका लागि कुनै शुल्क नलाग्ने पनि महानगरले उल्लेख गरेको छ । करार अवधि पाँच महिनाको हुनेछ ।

महानगरले महानगरपालिकाको बासिन्दा, सोही प्रकृतिको जनगणना वा विभिन्न सर्वेक्षणमा कम्तीमा १ महिनाभन्दा बढी अवधि काम गरेको तथा विगतमा यही कार्यक्रमबाट छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिने भनेको छ ।

सुपरीवेक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्यांक शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।

यस्तै गणकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्यांक शास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी ज्ञान भएको हुने पर्ने छ ।

सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रुपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। यस्तै, गणकले मासिक  ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक र २ हजार रुपैयाँ इन्टरनेट खर्च पाउने छन् ।


Published :१६ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media