गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको ओलीको आरोप

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८०

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन् ।

शुक्रवार पोखरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए । उनले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । उनले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताए ।

उनले भने, ‘नेकपा एमाले एउटा साधारण प्रतिपक्ष होइन । इतिहास रचना गरेर आएको इतिहास बनाएको, इतिहास बनाउन नेतृत्व गरेको, इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी हो । देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भुमिका खेल्छ । अहिलेका तत्कालीक समस्याहरु तिनीहरुको समाधानमा पनि लाग्छौँ । अर्को कुरा एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामी बाहेकका अरु त एकजुट भएर लागेकै छन् नि । त्यसकारण उनीहरुको काम भनेको एमालेको बिरोध गर्ने हो, खेदो खन्ने हो । विकास निर्माण होइन, जनतासँग सरोकार छैन । राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुराउँछन् । यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको छ । मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनउान र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो ।’

अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए ।


Published :२२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media