काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ भएको आशंका गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै उनले एनसेलको स्वामित्व खरिद बिक्री रातारात नभएको बताए ।
गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो भागमा रहेको सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड डलरमा बिक्री गरेको सार्वजनिक भएको थियो । उक्त कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ ।
एनसेलको बिक्री छानबिन गर्न सरकारले समिति पनि गठन गरिसकेको छ । शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा कांग्रेस महामन्त्री थापाले कर अधिकृतले गर्न सक्ने छानबिनमा सरकारले समिति नै बनाएको भन्दै समितिले ढाकछोप गर्नतिर जान सक्ने आशंका गरे ।
सरकारले एनसेल बिक्री कुनै मन्त्रालयको विषय होइन, समिति बनाएर हेर्छु भनेको भन्दै समितिले ठीक ढंगले काम गर्छ कि गर्दैन हेर्नुपर्ने बताएका हुन् ।
एनसेल बिक्री प्रकरणमा संसदीय समिति कसैको प्रभावमा पर्दैन भन्ने विश्वास हुने गरी काम गर्नुपर्ने पनि महामन्त्री थापाले बताए ।
एनसेलको लगानीकर्ता आजियfटाले जाँदाजाँदै नेपालमा लगानीको वातावरण नभएको भनी दिएको वक्तव्यको पनि उनले विरोध जनाए ।