काठमाडौं । प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन बिभाग र नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यागमन विभागका अधिकृत नरवीर खड्का र नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अर्का पाँचौ तहका कर्मचारी अरविन यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
उनीहरुले ट्राभल एजेण्टसंग मिलेर नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई एजेन्टको सेटिङमार्फत पैसा लिदालिदै पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले जानकारी दिएका छन् ।
भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उतिर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैयाँ देखाउनुपर्ने भएकाले सोही अनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको पन्थीले बताएका छन् ।
अध्यामन र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ परेसंगै अन्य केही एयरलाइन्समाथि पनि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । उक्त प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्स्का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् ।
पन्थीले ९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको जानकारी दिए। ८ जना धरौटीमा छुटिसकेको जानकारी दिँदै उनले आजमात्रै थप ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान प्रारम्भ भएको जानकारी गराएका छन् ।
प्रहरी नायव उपरीक्षक पन्थीकाअनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल छन् । एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उनले जानकारी दिएका छन् ।
कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका)हरुको हकमा ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायव उपरीक्षक पन्थीले जनाएका छन् ।