७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत

राष्ट्रपाटी न्युज

फाल्गुन ७, २०८०

काठमाडौं । डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्।

स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्।

उक्त दम्पतीका तीन छोरी र एक छोरा छन् । भाटको माइती सुर्खेत हो। धेरै पहिले खडायत र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। उनीहरूबाट सन्तानसमेत भए । श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खडायतले सिउँदो भने भरेका थिएनन्।

जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए।

खडायतका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन्। उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए। विवाहमा बेहुला-बेहुलीका पनातिसमेत सहभागी थिए। खडायत पडरे देउताका भणारेसमेत हुन्।

सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन्। महायज्ञका पुजारी शर्मानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेको हो।


Published :फाल्गुन ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media