प्रधानमन्त्रीद्वारा बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन

राष्ट्रपाटी न्युज

१२ फाल्गुन २०८०

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बृहत शैक्षिक तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्न बागमती आइपुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टर चढेर आउनु भएका प्रधानमन्त्री प्रचण्डले बागमती नगरपालिकाले वडा नं. ११ स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा आयोजना गरेको एक दिने शैक्षिक महोत्सवको केहीबेरअघि उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो २ बजे नै आइपुग्ने भनिए पनि ढिलो गरी आइपुगेका हुन् । कर्मैयास्थित फुटबल चौरदेखि उत्तर हेलिकप्टर ल्याण्ड गर्ने बित्तिकै नगरप्रमुख भरतकुमार थापा, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरे ।

अहिले सातै प्रदेशको भेषभुुषा र पहिचान झल्कने नृत्य चलिरहेको छ । सिरहामा पुल उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड सर्लाही आइपुुगेका हुुन् । प्रधानमन्त्री प्रचण्डसँगै सहरी विकास मन्त्री सीता गुरुङ पनि यहाँ आइपुगेकी छन् ।

नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत आयोजित शैक्षिक महोत्सवमा तीन हजार विद्यार्थी र करिव १५ हजार अभिभावकलाई सहभागी गराइएको बागमती नगरपालिकाले जनाएको छ । महोत्सवमा सातै प्रदेशको सँस्कार, सँस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गरिँदै छ । । विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरुको सर्वागिण विकासका लागि समाजको मौलिकता, संस्कार, सँस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनाएको छ ।

शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई भव्य बनाउन बागमती नगरपालिकाले तीन महिनाअघि देखि तयारी गरिरहेको थियो ।


Published :१२ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media