भव्य बन्यो रिलायन्सको विज्ञान प्रदर्शनी मेला

राष्ट्रपाटी न्युज

१३ फाल्गुन २०८०

काठमाडौँ- सरस्वतीनगर, चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले आयोजना गरेको विज्ञान प्रदर्शनी मेला सम्पन्न भएको छ। बिहीबार सुरु भएको मेलाको शनिवार एक औपचारिक कार्यक्रम गर्दै समापन गरिएको हो। मेलामा ३० वटा विज्ञान सम्बन्धी स्टलहरू तथा १० वटा सूचना प्रविधि सम्बन्धी स्टलहरूमा प्रदर्शन गरिएको थियो। त्यस बाहेक ‘आर्ट’ ‘फेस पेन्टिङ’ तथा फुड स्टलहरू पनि कार्यक्रमको आकर्षणको रूपमा रहेका थिए।

विद्यार्थीहरूको प्रतिभालाई उजागर गरी उनीहरूलाई राष्ट्रको असल अनि सभ्य नागरिक बनाउने रिलायन्सको उद्देश्य रहेको र सोही अनुरूप पठनपाठन सँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई अघि बढाउने क्रममा प्रदर्शनी मेला आयोजना गरिएको आयोजकले जनाएको छ। सिकाई प्रणालीमा सृजनशीलता ल्याउँदै वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित उक्त विज्ञान प्रदर्शनीमा करिब ४,००० ले अवलोकन गरेको एकेडेमीको दाबी छ।

रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा प्रधानाध्यापक रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्रा.डा विनिल अर्याल प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू सहित शिक्षा क्षेत्रका स्थापित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने रिलायन्सका विद्यार्थी, शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

कलेजका सञ्चालक तथा संस्कृति विभाग प्रमुख दामोदर निरौलाले २ मिनेटको ध्यान गराई कार्यक्रम सुरुवात गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिलाई सम्बोधन गर्दै कलेजका विज्ञान संकायका संयोजक यादव पाण्डेले प्रदर्शन सफल गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

त्यस्तै रिलायन्स एजुकेसन नेटवर्कका सह-प्रधानाध्यापक नन्दु कुमार कुशवाहले प्रदर्शनीमा करिब ४५ ओटा विद्यालयका ४००० जना विद्यार्थीले ४२ ओटा प्रदर्शनी अवलोकन गरेको जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रिलायन्सका सञ्चालक तथा वरिष्ठ चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले प्रदर्शनीले विद्यार्थीमा खोज अनुसन्धानमा लाग्न प्रेरित गर्ने बताए।

उक्त समापन समारोहमा त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका प्रोक्टर राजेन्द्र प्रसाद कोइराला तथा कलेजका होटेल म्यानेजमेण्ट विभागका अध्यक्ष बिबि क्षेत्रीले समेत आफ्नो धारणा राखेका थिए।

रिलायन्स साइन्स एण्ड आइटी क्लबकी सचिव छिरिङ पाल्देन शेर्पाले क्लबको सक्रियतामा कार्यक्रम आयोजना गर्न सघाउने सबैलाई धन्यवाद दिइन्। त्यस्तै कलेजका इसिए/सिसिए संयोजक गोविन्द ढकालले सबैको साथका कारण भव्य रूपमा प्रतियोगिता सम्पन्न हुन सकेको भन्दै आभार व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि अर्यालले रिलायन्स कलेज शिक्षा क्षेत्रमा आफैँ सधैँ केही न केही सृजनशील र विद्यार्थी केन्द्रित गतिविधि गर्नमा अब्बल रहेको भन्दै आगामी शैक्षिक गतिविधिका लागि शुभकामना दिए।

कार्यक्रमका सभापति थापाले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए। उनले आगामी वर्षको विज्ञान प्रदर्शनी बागमती प्रदेशस्तरीय गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरे।

कार्यक्रममा रिलायन्स आइडलको चौथो सिजनको ग्राण्ड फिनाले समेत सम्पन्न गरिएको थियो। मात्र एजुकेसनलाई प्राप्त नतिजा विवरण अनुसार कक्षा १२ का प्रशान्त खाती प्रतियोगितामा प्रथम भएका छन्। त्यस्तै कक्षा १२ कै सुवेश तामाङ द्वितीय र कक्षा ११ की दृष्टि कुलुङ तृतीय भएकी छिन्।

समापन कार्यक्रममा उत्कृष्ट प्रदर्शनीलाई पुरस्कृत गरिएको थियो भने नृत्य पनि प्रस्तुत गरिएको थियो। समापन समारोहको सञ्चालन कक्षा १२ मा अध्ययन गर्ने अभिषेक श्रेष्ठले गरेका थिए ।


Published :१३ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media