गठ्ठाघर दुर्घटनामा मृत्यु भएका व्यक्ति पुरुष भएको प्रहरीको भनाइ

राष्ट्रपाटी न्युज

साउन ३१, २०८१

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति पुरुष रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले मृतक व्यक्ति अन्दाजी ४०-४५ वर्षका पुरुष रहेको जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले विज्ञप्तिमा भुलबस २०-२५ वर्षका पुरुष उल्लेख भएको बताए।

बिहीबार दिउँस १:४० बजे कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा४९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। प्रत्यक्षदर्शीका अनुसार ट्रकले ती व्यक्तिलाई घिसार्दै परसम्म पुर्‍याएको थियो। उक्त घटनापछि गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो।

प्रदर्शनकारीले ढुंगा मुढा गरेपछि प्रहरीले २२ सेल अश्रग्यास प्रहार गरेको थियो। घटनामा तीन जना प्रहरी घाइते भएका थिए। प्रदर्शनकारीले प्रहरी ह्यान्डसेट, चर्जर थान र टेबल थान भत्काएको थियो।

भीड नियन्त्रणमा लिएपछि प्रहरीले ४:४५ बजे मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको थियो। प्रवक्ता कार्कीका अनुसार ट्रक चालक सर्लाहीका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए।

उनका अनुसार स्कुटरबाट उत्तम कोइराला नामको बिलबुक भेटिएको छ। मृतक पनि उनै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। कोइराला ओखलढुंगा निवासी रहेको प्रहरीले जनाएको छ ।


Published :साउन ३१, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media