म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार

राष्ट्रपाटी न्युज

कार्तिक २५, २०८१

गलेश्वर । गाउँलेको खान्की भनेर हेपिएको कोदोको माग हिजोआज शहरबजारमा पनि बढेपछि म्याग्दीका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ। पश्चिम म्याग्दीका मालिका, मंगला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो।

बजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँ–गाउँमा नै आउन थालेको किसान बताउँछन्। कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेस्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का रणबहादुर शिर्पालीले बताए।

मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ। यहाँका स्थानीयले गत वर्ष २०० मुरीभन्दा बढी कोदो उत्पादन गरेका थिए। यस वर्ष भने ३५० मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको दिच्यामका वीरबहादुर विकले बताए। गत वर्षभन्दा १२० रोपनी बढी जग्गामा कोदोखेती विस्तार गरिएको उनको भनाइ छ।

“शहरमा कोदोको माग उच्च छ। गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो। यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला खोजी दुई दिन लगाएर कोदो रोपेँ। सात–आठ मुरी जति कोदो फल्ने अनुमान छ,” धवलागिरि गाउँपालिका–२ की शोभा पुनले भनिन्।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ। गत वर्षको तुलनामा ०.६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए।

अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा  कोदो उत्पादन बढ्ने अनुमान गरिएको उनको भनाइ छ। गत वर्ष म्याग्दीमा दुई हजार ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो । (रासस)


Published :कार्तिक २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media