सिकलसेलको औषधि ल्याएर बिरामीलाई वितरण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

राष्ट्रपाटी न्युज

कार्तिक २६, २०८१

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरूलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताए । नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ ।

नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेका छन् ।

समारोहमा स्नातक तहका ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

 


Published :कार्तिक २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media