पाटन (ललितपुर) । सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण भएको बताएका छन्।
झापा क्षेत्र नं १ सांसद सचिवालय काठमाडौँ तथा नेपाली कांग्रेस क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको प्रथम ‘झापा–१ काठमाडौँ कप’ फुटसल प्रतियोगिताको आज उद्घाटन समारोहमा उनले सांसद विश्वप्रकाश शर्माले गरेको यो कार्य अत्यन्तै महत्वपूर्ण र रचनात्मक काम भएको बताउँदै खेलकुद क्षेत्रलाई राज्यले अझै पनि उचित स्थान दिन नसकेको बताए।
“पछिल्लो समय खेलको क्षेत्रमा नेपाल क्रमशः अगाडि बढ्दै आएको छ, केही समयदेखि क्रिकेटलगायत खेलमा नेपालले उल्लेख्य प्रगति गरेको छ, हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्न सकिन्छ, खेलकुदमा हाम्रो भविष्य राम्रो छ”, सभामुख घिमिरेले भने ।
उनले विगतको तुलनामा खेलकुद क्षेत्र थप वर्तमान समयमा केही राम्रो काम भएको भन्दै यसलाई अझै प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले रचनात्मक कार्यक्रममार्फत झापाका सबैलाई जोड्ने प्रयास र कौशलाको प्रशंसा गरे ।
उनले सांसद शर्माले देशभर नै रचनात्मक काम गरेर जनताको मन जित्न गरेको प्रयास महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।