काठमाडौं । मंगलबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंलाई म्याद थपका लागि प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेर अनुसन्धान र कानुनी प्रक्रियाका लागि अपराह्न साइबर ब्यूरोमा पठाएको थियो ।
प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको बुझिएको छ ।
प्रसाईंले सोमबार प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा २१ करोड डलर लगानी रहेको अभिव्यक्ति र केही कागजपत्र सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थिथियो । प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीले जनाएको छ ।