चीनले नेपाललाई ५ अर्ब ६० करोड अनुदान दिने

राष्ट्रपाटी न्युज

१८ मंसिर २०८१

काठमाडौं । चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ।

चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ।

यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ। यसअघि सन् २०१७ मा पनि यस्तै सम्झौता भएर खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा चिनियाँ सहयोगमा परियोजनाहरु निर्माण भएका थिए। त्यसैको निरन्तरता स्वरुप यो सम्झौता भएको हो।

त्यस्तै, चीनले नेपाल सरकारलाई बजेटरी सहयोग गर्ने गरी नगद सहयोग सम्बन्धी सम्झौता पनि भएको छ। यो सम्झौताअन्तर्गत कति नगद सहयोग प्राप्त हुने भन्ने चाहिँ खुलेको छैन। यसका अतिरिक्त चीन सरकारसँग नेपालसँग सन् २०२४ देखि २०२९ सम्म विभिन्न विकास योजनामा सहयोग लिने सम्बन्धी एमओयू पनि भएको छ।

यो एमओयूमा कति रकम नेपालले प्राप्त गर्ने भन्ने उल्लेख नभए पनि त्यसरी प्राप्त हुने रकम अनुदान नै हुने विषय उल्लेख भएको छ। साथै, चीनले लामो समयदेखि निर्माणको प्रतिबद्धता गरेको टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि सघाउने भएको छ। यससम्बन्धी समझदारीपत्रमा पनि नेपाल र चीनबीच हस्ताक्षर भएको छ ।


Published :१८ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media