सुदूरपश्चिमको दोस्रो जित, काठमाडौँ ७३ रनले पराजित

राष्ट्रपाटी न्युज

२० मंसिर २०८१

काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो। नरेन साउदको उत्कृष्ट पाँच विकेटले काठमाडौंलाई १५.५ मा ९४ रनमा सीमित गरायो।

टियु क्रिकेट मैदानमा टस हारेको सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि स्टेफन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए। उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३८ रन बनाएको हो। काठमाडौंले १० ओभरमा ४ विकेट गुमाउँदै ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा काठमाडौंले काइकल लेभिटलाई ५ रनमै गुमायो। दोस्रो विकेटका रूपमा अर्का ओपनर शंकर रानालाई सैफ जैबले ३ रनमै बोल्ड गरे। तेस्रो विकेट भिम सार्की १० रनमा रन आउट भए।

चौथो विकेट गेरहार्ड इरास्मस १० रनमा नरेन साउदको बलमा एलबीडब्लु आउट भए। पाँचौं विकेट सुमित महर्जनको गयो। उनले १० बलमा २ चौकासहित १४ रन बनाए। छैटौं विकेटका रुपमा स्टेफन इस्किनाजीको विकेट गयो। सातौं विकेट रासिद खानको विकेट गयो। उनी २ रनमै नरेन साउदको बलमा रोहन मुस्तफाबाट क्याच भए ।

आठौं विकेट प्रतिक श्रेष्ठको रह्यो। नवौं विकेट कप्तान करण केसीको रह्यो। उनी १ रनमै नरेनको बलमा ब्रान्डनको हातमा क्याच भए। अन्तिम विकेट साहब आलमको पनि नरेनले नै लिँदै आफ्नो ५ विकेट पूरा गरे। सुदूरपश्चिमका लागि नरेन साउदले सर्वाधिक ५ विकेट लिए। अभिनास बोहोराले २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, सैफ जैब र ले समान १/१ विकेट लिए। यसअघि सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको थियो।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले अर्धशसतकीय पारी खेले। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ४३, विनोद भण्डारीले ३५ र सैफ जेबले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमाडौंका लागि रसिद खानले २ र करण केसी, साहब आलम र गेहार्ड इरासमले एक-एक विकेट लिए।


Published :२० मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media