काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण सम्वन्धी छलफल समेत नभएको बताएका छन् । चीनबाट फर्किएर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने ओलीले बताएका छन् ।
पत्रकारहरुले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । सो प्रश्नको जवाफ दिने क्रममा ओलीले १८ महिना आफूले सरकार चलाउने बताउँदै भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’
चुनावमा बहुमत ल्याउन कोसिस गर्ने र बहुमत नआए सरकार गठनका अरु विकल्पमा जाने ओलीको भनाइ छ ।
चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् । अब दक्षिणको भ्रमण कहिले ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’