एनपिएलमा कर्णालीको दोस्रो जित, विराटनगर ७ रनले पराजित

राष्ट्रपाटी न्युज

मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले दोस्रो जीत निकालेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सलाई हराउँदै कर्णाली याक्सले दोस्रो जीत दर्ता गराएको हो ।

यसअघि कर्णाली याक्सले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जीत निकालेको थियो । दोस्रो जीत हात पर्ने क्रममा शनिबार कर्णाली याक्सले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरलाई ७ रनले पराजित गरेको छ ।

विराटनगरलाई दिएको १३४ रनको लक्ष्य रोक्न कर्णाली याक्सका लागि नन्दन यादवले ३ र विपिनप्रसाद शर्माले २ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिश सिंह ठकुरीले समान १–१ विकेट लिए ।

विराटनगरका लागि ३९ बल खेलेका निकोलस किर्तोनले ४० रन बनाए । लोकेश बमले ९ बलमा १९ र दीपक बोहराले १२ बलमा १८ रन जोडे पनि विराटनगरका अन्य खेलाडीले राम्रो योगफल तयार गर्न सकेनन् ।


Published :मंसिर २२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media