जनकपुरको प्लेअफ यात्रा पक्का, काठमान्डु ५ विकेटले पराजित

राष्ट्रपाटी न्युज

मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले प्लेअफको यात्रा शुभारम्भ गरेको छ।

बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो।

जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र३ छक्का मदतमा सर्वाधिक २७ रन बनाए। हर्श थाकरले अविजित २५ रन योगदान गरे। उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे।

लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए। मोहम्मद मोहसिनले अविजित १३ रन जोडे। बलिङमा काठमान्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए।

त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो।

काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए। बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


Published :मंसिर २७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media