एनपीएलको आजको दोस्रो खेलमा विराटनगर र चितवनबीच भिडन्त हुने

राष्ट्रपाटी न्युज

मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसोको खेलमा चितवन राइनोज र विराटनगर किंग्स भिड्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको हो।

प्लेअफ दौड कठिन बनेको विराटनगर र प्लेअफ दौडमा रहेको चितवनबीचको खेललाई रोचक ढंगले हेरिएको छ। एनपील तालिकामा चितवन ६ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भएको कर्णाली रनरेटका आधारमा चौथो स्थानमा छ। विराटनगर भने दुई अंकसहित तालिकाको पुछारमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

एनपीएल अन्तर्गत शुक्रबार बिहानको पहिलो खेलमा भने प्लेअफ दौडबाट एक खेल अगाडि नै बाहिरिएको लुम्बिनी र प्लेअफ दौडको बलियो सम्भावना भएको कर्णालीबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ ।


Published :मंसिर २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media