काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा आज (सोमबार) अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।
लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् । सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन तयार भइसकेको र आज सरकारी वकिल कार्यालयमा पेस गरिने कास्की प्रहरीले जनाएको छ ।
अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिँदै कास्कीका प्रहरी प्रमुख एसपी श्यामबावु ओलियाले भने, ‘मुद्दाको टिमले प्रतिवेदनमा काम गरिरहेको छ ।’ लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । लामिछानेविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ । सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दायर गरेपछि अदालतले धरौटीमा छाड्ने, साधारण तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्नेबारे आदेश दिनेछ । संसदीय विशेष छानविन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ ।
अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् । सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त मानिएका जिबी राई भने फरार छन् ।