लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरूद्ध पक्राउ पुर्जी जारी

मोरङ । मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी संसद्का लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

पोखरेल पत्नी अन्जला कोइरालासहित २६ जनाविरूद्ध मंगलबार मोरङ  जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

‘अन्जला कोइरालासहित २६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो,’ अदालतका सूचना अधिकारी हमबहादुर बुढाथोकीले भने, ‘मंसिर २७ मा अभियोगपत्र दायर भएको थियो। सोही अनुसार पक्राउ पुर्जी जारी भएको हो।’

इलाका प्रहरी कार्यालय रंगेलीले यो विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो।

सोही आधारमा सरकारी वकिलको कार्यालय मोरङले पोखरेल पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो।

मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियामा रहेको यो सहकारीमा कुनै बेला सञ्चालक समिति सदस्य रहेकी अञ्जला  मोरङ २ का एमाले सांसदसमेत रहेका लेखा समिति सभापति पोखरेलकी पत्नी हुन्।

उनले यो प्रकरण बाहिर आएपछि  सहकारीबाट आफै ठगीमा परेको र सहकारीकै कारण आफू कालोसूचीमा परेको दाबी गरिरहेकी थिइन् ।


Published :पुस २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media