खोखो विश्वकप फाइनलमा नेपाल भारतसँग पराजित

काठमाडौँ । नेपालको महिला टोलीले पहिलो खोखो विश्वकपको उपाधि जित्ने अवसर गुमाएको छ। फाइनलमा भारतले नेपाललाई ७८-४० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

फाइनल खेलको पहिलो टर्नमा नेपालले भारतलाई आक्रमण गर्ने मौका दिएको थियो। भारतीय खेलाडी प्रियांका इंगलेले पहिलो टर्नमै आक्रामक प्रदर्शन गर्दै आफ्नो टोलीलाई ३४-० को ठुलो अग्रता दिलाइन् ।

दोस्रो टर्नमा भारतीय खेलाडी चैत्रा आरले एक ड्रीम रन अंक जोडेर आफ्नो टोलीलाई थप बलियो बनाइन्। यद्यपि, नेपालले बलियो पुनरागमन गर्दै स्कोरलाई ३५-२४ सम्म पुर्‍यायो।

तेस्रो टर्नमा भारतले आफ्नो आक्रमणलाई थप तीव्र बनाउँदै नेपाललाई दबाबमा राख्यो। यस क्रममा भारतीय टोलीले ४९ अंकको ठूलो अग्रता कायम गर्‍यो। चौथो टर्नमा पनि भारतीय खेलाडी चैत्रा आरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच ड्रीम रन अंक जोडिन् ।

चौथो टर्नको समाप्तिसँगै खेल भारतको पक्षमा ७८-४० मा टुंगियो ।


Published :माघ ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media