यु-१९ महिला विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा बुधबार नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल खेल्न लागेको हो।

पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यका साथ नेपाल आज मैदानमा हुनेछ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ। बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल समूह ‘डी’को पुछारमा छ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।


Published :माघ ९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media