चिसो र शीतलहरले मुसहर परिवारलाई समस्या

सर्लाही ।  चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन् ।

बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उनीहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छन्। चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडा समेत नभएको उनले गुनासो गरिन् । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छन् । त्यसैमा उनको १० दिनको शिशु पनि सुताएकी छन् ।

दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कन समेत नपाएका कारण दुई छाकको जोहो समेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताइन् । “भुइको चिसो पनि आउँछ ।” सुत्केरी माझीले भनिन्, “माथि बाट शीत चुहिरहन्छ । ओड्ने कुरा पनि राम्रो छैन् । बाँसको टाटीको प्वाल बाट छिरेको चिसो स्याँठले मुटु छेडेर जान्छ ।”

जोनिता जस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिइन्। शुरुमा चिसो कम हुँदा जसो तसो दिन रात कटाकी उनलाई शीतलहर शुरु भएपछि भने समस्या भएको बताइन् । चिसोले रातभरि शिशु रोएर नसुत्ने उनले दुखेसो पोखिन् । चिसोका कारण आफू पनि निकै पटक बिरामी परिसकेको उनको भनाइ थियो ।

पुनिताका श्रीमान् पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन् । श्रीमान्ले कमाएर ल्याउलान र मिठो मसिनो खाने तथा बालबच्चा र आफू समेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताइन् ।  कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भनेको उनले सुनाइन् । सुत्ने ओछ्यान नजिकै बालेको घुर हेरेर रात कटाउने गरेको उनको दुखेसो छ ।

बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसेकी छन् । “भुइमा राख्यो की चिसोले बच्चा रोही हाल्छ,” उनले भनिन्, “छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।” मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूध समेत खान नपाएको उनले गुनासो गरिन् ।

चिसो बढेकाले परिवारको अन्य सदस्य मजदुरीमा जान नसक्दा आफू समेतले कयैँन रात भोकै बस्नु परेको भन्दै शिशुलाई खुवाउन दूध नआएको उनले सुनाइन् । बिनाका श्रीमान् पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गरिरहेका छन् । सिजन सकिए पछि घर आउने उनको तयारी रहेको विनाले बताइन् । तर, आफू र शिशुलाई चिसोले धेरै सताइरहेको उनको गुनासो छ ।

यस बस्तीमा चिसो शुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ । न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहो समेत गर्न सबैको मुस्किल छ । अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन् । उनीहरु तीन देखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेका बसवरिया गाउँपालिका–३, की वडासदस्य सिता देवी माझीले बताइन् ।

त्यति बेला सम्म परिवारले भोकै प्यासै बस्नुपर्ने वस्तीको बाध्यता रहेको उनले बताइन् । विपन्न परिवारका उनीहरूलाई सरसापट समेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्य सिता देवीको भनाइ छ । वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यस बस्तीको नियमित नियति रहेको उनी सुनाउँछिन् ।

बस्तीका अन्य परिवारले पनि दिन रात घुर तापेर चिसो छल्ने प्रयास गरिरहेको बताएका छन् । व्यवस्थित बस्ने बास समेत नभएका आफूहरूको लागि जाडो काल बनेर आउने गरेको स्थानीय मनवा देवी माझीले दुखेसो पोखिन् । गत वर्ष जाडोमा केही सामाजिक सङ्घ संस्थाले दिएका न्यानो कपडाको भरमा जाडो छलिरहेको उनको भनाइ थियो । “पहिला पाएको केही ओढ्नेले यस वर्ष पनि चिसो छेक्दै छु ।” उनले भनिन्, “यस पटक पाएको छैन्, चिसो धेरै भयो भने निन्द्रा लाग्दैन । रात भरी आगो तापेर जागै बस्छु ।”

स्थानीय पालिकाले विपन्नलाई राहत दिँदा सम्पन्नले पनि माग्ने भन्दै नदिने गरेका लक्षुमनिया देवीको भनाइ छ । गाउँ पालिकामा माग्न जाँदा भएकाले पनि माग्छन् । तिमीलाई कसरी दिनु भनेर त्यसै फर्काउने गरेको उनको गुनासो छ । आफू सबै ठाउँ बाट चपेटामा परेको भन्दै विपन्न मुसहर परिवारले कष्टपूर्ण तरिकाले चिसोको करह बाट बाच्ने उपाय गरिरहेको उनले बताइन् ।

यता गाउँपालिकाले विगतमा राहतको व्यवस्था गरेको भएपछि यस पटक केही ढिला भएको पालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए । मुसहर परिवारको अवस्था दयनीय रहेको कुरा जानकारी नआएको भन्दै अध्यक्ष रायले त्यस्तो अवस्था भए बुझेर राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । विपन्नका लागि ल्याएको योजनामा विपक्षी र सम्पन्नले काम नै गर्न नदिने गरेको उनको गुनासो थियो ।

“यस गाउँका पाँच परिवारको घर गत चैतमा आगोले जलेर नष्ट भयो ।” उनले भने, “हामीले सिफारिस गरेर पठायौँ । पछि राजनीति गरेर अनेक गरेपछि उहाँहरू समेतले जिल्ला विपद्मार्फत पाउने घर बनाउने पैसा पाउनुभएको छैन् । शुरुमा पालिकाले १०÷१० हजार नगद र केही खाद्यानन्न दिएका थियो ।” मधेशमा काम गर्न नदिने र गरेन भनेर बदनाम गर्ने प्रवृत्ति व्यापक बनेको उनले बताए ।

आगलागी बाट घरबार गुमाएका परिवार अहिले पनि चिसोमा आफन्तको कहाँ बसेका छन्। आगोले उक्त वस्तीमा रहेको विन्देश्वर माझी, रामविश्वास माझी, दिनेश माझी, जोखु मुखिया र गुलरी देवीको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो ।  रासनारायण माझी, मिश्री माझी, हरिनु माझी, नरेश राय, राजकिशोर मुखिया र गोपी मुखियाको घरमा आंशिक क्षति पुगेको वडा सदस्य सितादेवी माझीले बताइन् ।


Published :माघ १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media