यस वर्ष बागलुङमा २६ करोड ४६ लाख बढीको सुन्तला बिक्री

बागलुङ । यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने एक करोड ८६ लाख ५४ हजार बढी परेको हो ।

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा झरेको छ । तर अघिल्लो वर्ष न्यूनतम मूल्य ६० रहेकोमा यस वर्ष बढेर ६५ पुग्दा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएको उनको भनाइ छ ।

अघिल्लो वर्ष २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको भन्दै यस वर्ष समयमा वर्षा नभएको र हिउँदे सिँचाइ पनि पर्याप्त नहुँदा उत्पादनमा कमी आएको सूचना अधिकारीले बताए । कृषि ज्ञान केन्द्रले सुन्तला उत्पादन किसानलाई प्राविधिक सहयोग सहित अनुदान दिने गरेको उनी बताउछन् ।

उनले भने, “अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आयो तर मूल्यका हिसाबले भने बढेको छ, किसानले तुलनात्मक रूपमा यस वर्ष घाटा व्यहोर्नु परेको छैन, थोरै भए पनि फाइदानै लिनुभएको छ, यस वर्ष  ५ रुपैयाँले मूल्य बढेको हुँदा किसान समस्यामा पर्नु भएको छैन, अझै पनि किसानले सुन्तला बजार पठाइ राख्नुभएको छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । त्यसमध्ये यस वर्ष ३७७ हेक्टरमा लगाएका बिरुवाले उत्पादन दिएका छन् । जिल्लामा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

काठेखोला किसान लोकनाथ कँडेलले यस वर्ष १३ लाख ५० हजारको सुन्तला उत्पादन गरेको बताए । गत वर्षको भन्दा उत्पादनमा कमी आए पनि आम्दानी भने बढी भएको बताए । पोहोर साल ११ लाखको सुन्ताल बिक्री गरेको उनले जानकारी दिए । आफ्नो बगैँचामा ३०० बोट सुन्तला रहेको जनाउँदै यस वर्ष २१० बोटल फल दिएको उनको भनाइ छ ।


Published :माघ १९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media