काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा पनि नेपालले पराजय भोगेको छ ।
नेपाल आज नेदरल्याण्ड्ससँग १५ रनले पराजित हुन पुग्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेदरल्याण्ड्सले जितका लागि दिएको १४१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटियो ।
नेपालले खेलमा राम्रो सुरुवात गरेपनि अन्त्यसम्म टिक्न सकेन ।
नेपालका लागि ममता चौधरी र सम्झना खड्काले पहिलो विकेटका लागि ३१ रन जोडे । पहिलो विकेटका रूपमा चौधरी ७ रन बनाउँदै पभेलियन फर्किइन् । लगत्तै खड्का पनि २३ रन बनाएर बोल्ड भइन् । उनले २५ बलको सामना गर्दै ४ चौका प्रहार गरिन् ।
पूजा महतो र इन्दु वर्माले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । पूजा १८ बलमा १८ रन बनाउँदै आउट भइन् । त्यसपछि आएकी कविता जोशीले १५ बलमा १४ रन जोडिन् । यति बेलासम्म नेपालले ४ विकेटको क्षतिमा १ सय रन बनाएको थियो ।
त्यसपछि भने नेपालले लगातार विकेट गुमायो । रुविना क्षेत्री र विन्दु रावलले खाता नै खोल्न सकेनन् भने कप्तान वर्मा पनि ३२ बलमा ३० रन जोडेर आउट हुन पुगिन् । उनले १ छक्का प्रहार गरिन् ।
अलिषा यादव पनि ५ रन बनाएर आउट भइन् । सीता राना मगरले १० रन जोडिन् । नेदरल्याण्ड्सका लागि आईरिस जीविलिङ, हेदर साइगर्स र क्यारोलिन डी लांगेले २(२ विकेट हात पारे । इभा लिन्च र इसाबेल भान डर वोनिङले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनाएको थियो ।
उसका लागि कप्तान बाबेट डी लिडेले ३८ बल खेल्ने क्रममा चार चौका र एक छक्काको सहयोगमा ४१ रनको योगदान दिइन् । त्यसैगरी हिटर सिर्गसले २६, रोबिन रिके र फेबी मोलकिनबोरले समान २१/२१ रन जोडे ।
बलिङतर्फ नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक/एक विकेट लिए ।
नेपालले यसअघि खेलेको दुई खेलमा दुवैमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यसैगरी आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।