तिमाङको जंगलमा लागेको डढेलो अझै नियन्त्रणबाहिर

मनाङ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको डढेलो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको डढेलो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले डढेलो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार  डढेलो निभाउने प्रयास जारी छ ।

“आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ ।  डढेलो बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउने प्रयासमा छन्”, प्रजिअ आचार्यले भने, “भिरमा डढेलो भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।”

अन्यत्र  डढेलो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि डढेलो नियन्त्रण लिन नसकिएको बताए ।

उनले भने, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, वनजंगलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ ।”

सल्लाको काठ, पातपतिंगरले गर्दा डढेलो  बढ्नसक्ने डर रहेको प्रमुख भुजेलले बताए ।  उनले भने, “सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।”

सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजंगलमा डढेलो लागिरहेको भुजेलले जानकारी दिए । उनका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत  डढेलोले नष्ट हुने जोखिम बढेको छ ।
“डढेलोका कारण चराचुरुंगी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्छ । । चराचुरुंगी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नाश हुने सम्भावना छ”, कार्यालय प्रमुख भुजेलले भने । उनका अनुसार यस वर्षको मंसिरयता ताल, आइसलेक, पिसाङ भिरमा डढेलो लागेको छ ।

विसं २०७७ मंसिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो ।


Published :२२ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media